काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय सहमतिका लागि पार्टी तयार रहेको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति गरी चार पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भन्ने विषयमा दलमा छलफल भएको बताए ।
उनले भने, ‘चार वटा पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भन्नुभएको थियो। हामी सहमतिका लागि तयार छौं। छलफल गर्न तयार छौं। त्यो छलफल सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिमा। अब सहमति भनेपछि कुराकानी गर्दा जे पनि होला तर, सबै एउटै दलको नाममा त नहोला।’
उनले आफूहरु सकारात्मक रुपले छलफल गर्न तयार रहेको बताए । प्रदेशका सन्दर्भमा उनले भने, ‘प्रत्येक प्रदेशमा पार्टीको संसदीय दल छ। पार्टीलाई के गर्दा उचित हुन्छ, राम्रो हुन्छ। केही प्रदेशमा फरक–फरक निर्णय भएका छन्। जहाँसम्म एमालेसँग मात्रै प्रतिस्पर्धा गर्ने भन्ने होइन। राजनीतिक रुपमा फिल्डमा एमाले प्रतिस्पर्धी हो। प्रतिनिधि सभामा पनि हामी सबैभन्दा ठूलो दल हौं।’















