काठमाडौं- सत्ता साझेदार दलहरूबीच भएको भागबण्डामा हेपिएको भन्दै असन्तुष्ट बनेका जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
ओली निवास बालकोट पुगेर उनले आफ्ना चाहाना र गुनासा राखेका छन् । स्रोतका अनुसार यादव उपराष्ट्रपति जसपाको भागमा पार्न चाहन्छन् । त्यसमा पनि उपराष्ट्रपतिमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा आउन चाहन्छन् ।
अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने भनिएको छ । यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासोसमेत गरेका छन् ।
जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ । जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गरेका छन् ।
चुनावमा पनि एमालेसँग मिलेर गएकाले अब पनि सोही अनुसार अघि बढ्ने र केही तलमाथि भएको आफूले मिलाउने आश्वासन ओलीले यादवलाई दिएका छन् ।













