धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा हुने श्री कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ–२०७९ को तयारी पूरा भएको छ । मनेहरामा रहेको कालिका मन्दिर व्यवस्थापन समिति र खेल संस्था शिअ उसु क्यानको संयुक्त आयोजनामा यही माघ ८ देखि १४ गतेसम्म हुने महायज्ञको तयारी पूरा भएको हो ।
आयोजकले शनिवार मनेहरामा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञको तयारी पूरा भएको जानकारी दिएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीले कालिका मन्दिरको सार्वाङ्गिण विकास गर्ने, शिव भगवानको मुर्ति स्थापना गर्ने, सामुदायिक तथा भवन निर्माण गर्ने उदेश्यसहित महायज्ञ आयोजना गरिएको बताए ।
धर्मप्रतिको जनआस्थालाई जीवन्त तुल्याइराख्न, समाजमा रहेका जातीय, धार्मिक, सांस्कृतिक भेदभावको अन्त्य गर्न र सभ्य, सु–संस्कृत समाजको निर्माण गर्न महायज्ञले भूमिका खेल्ने उनको भनाइ छ ।
यस्तै उसुका प्रशिक्षक रतन खातीले धर्म एव्म खेलकुद क्षेत्र प्रतिको जनआस्थालाई जिवन्त राख्न र अनुशासन, सभ्य संस्कारलगायत सभ्य समाजको परिकल्पना गर्ने उदेश्यका साथ महायज्ञ हुन लागको बताए । महायज्ञले खेल सामग्रीको व्यवस्थापन र खेलप्रतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल राष्ट्र पनि चिनाउन सकिन्छ भन्ने कुराको आत्मबोध गराउने उनले बताए ।
महायज्ञमा करिब १० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महायज्ञको १० लाख भन्दा बढी भक्तजनले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । महायज्ञको उद्घाटन सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गर्ने भएका छन् ।
महायज्ञमा प्रमुख कथावाचक श्री गोविन्दशरण महाराज, कथावाचक अच्युतशरण महाराज र भजन गायनमा देवेन्द्र उपाध्याय रहेका छन् ।
महायज्ञ सुरु हुनुपूर्व क्याम्पस चोकबाट मन्दिरसम्म कलश यात्रा गरिने आयोजकले जनाएको छ । कलश यात्रामा वडा नम्बर ७ र ८ मा रहेका विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहने जनाइएको छ ।













