काठमाडौं- सौन्दर्य प्रतियोगिताको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय सुनाएको छ ।
उनलाई कैद सजायसहित पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते उनलाई दोषी ठहर गरेको थियो ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।
बलात्कार मुद्दा दर्ता गर्नका लागि हदम्याद बाधक भएपछि गत असार १ मा पाण्डेविरुद्ध जिल्ला अदालतमा बालयौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो ।













