धनगढी । धनगढीको एसटीएस सिनेमा हलमा समलिङ्गीको कथामा आधारित चलचित्र प्रदर्शन भएको छ । पहिलो संविधान सभा सदस्य समेत रहेका सुनिल बाबु पन्तको निर्देशन तथा उनकै व्यक्तिगत लगानीमा निर्माण भएको नीलो फूल (ब्ल्यु फ्लावर) लघु चलचित्र निःशुल्क प्रदर्शन गरिएको हो । मंगलबार दिउँसो १ः३० बजे चलचित्र प्रदर्शन भएको हो ।
निर्देशक पन्तले यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्षका बारेमा लघु चलचित्र निर्माण गरिएको बताए । चलचित्रमा गाउँको समलिङ्गी पात्रको कथा समेटिएको थियो । उसलाई जबरजस्ती महिलासँग बिहे गर्न लगाएर सन्तान प्राप्ति नहुँदा भोग्नुपरेको सङ्घर्ष कथामा यसमा समेटिएको छ ।
राज्यले समेत यौनिक अल्पसङ्ख्यकका समस्या सम्बोधनमा चासो नदिएको भन्दै आफूहरूका समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउन चलचित्रले भूमिका खेल्ने ब्लु डाइमण्ड सोसाइटीले विश्वास लिएको छ ।
यो लघु चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, विराटनगर र बुटवलमा प्रदर्शन भइसकेको छ । चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरीलगायतका कलाकारको भूमिका रहेको छ । सामाजिक मुद्दाको नयाँ विषय हुनाले सबैलाई चासोको विषय बनेको निर्देशक पन्तले बताए । फिल्म हेरिसकेपछि दर्शकले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् ।
यो फिल्म हेर्न दर्शकको भिड थियो । उनीहरूले यस प्रकारको फिल्मले समाजमा राम्रो सन्देश दिएको बताएका थिए । फिल्म हल सम्म यस फिल्मका निर्देशक तथा कलाकारहरू पनि आएका थिए ।


















