महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कञ्चनपुरको दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको लाभ सुदूरपश्चिमले लिने बताएका छन् ।
बिहीबार कञ्चनपुर पर्यटन महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । महाकालीमा पक्की पुल र सुक्खा बन्दरगाह निर्माणपछि कञ्चनपुर अन्तर्राष्ट्रिय व्यापारसंग जोडिने र त्यसको लाभ सुदूरपश्चिम प्रदेशले लिने मन्त्री देउवाले बताए ।
उनले कञ्चनपुरमा सुरू भएका सुक्खा बन्दरगाह, दैजी औद्योगिक क्षेत्र, महाकाली करिडोर, महाकालीमा निर्माणाधीन पुललगायत विकासका कामलाई यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने बताए । प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरू पनि चाँडै सम्पन्न गरिने मन्त्री देउवाले विश्वास दिलाए ।
यसैगरी उनले मेला महोत्सवले यहाँको कृषि, व्यापार र पर्यटनलगायत समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सवले कञ्चनपुरको गरिमा र पहिचानलाई राष्ट्रिय रुपमा चिनाउनसमेत मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।
विश्व अर्थतन्त्रमा मन्दी आइरहेका बेला यस्ता महोत्सवले आर्थिक गतिविधि पनि चलायमान बनाउने मन्त्री देउवाले बताए ।
यही फागुन १ गतेदेखि सुरू भएको महोत्सव बिहीबार ११औं दिनमा सकिएको छ । यसअघि महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।















