काठमाडौं- सभामुख देवराज घिमिरेले नेपालका मिडियाहरु चर्चित नेता र चर्चाका पछि मात्रै दौडिएको बताएका छन् । उनले महिलाहरूको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताए।
शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले संसद र अन्य संघसंस्थाहरूमा पनि महिलाहरूको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमहरूले सो अनुसार प्रचारप्रसार नगरेको आरोप लगाए।
सभामुख घिमिरेले भने, ‘अहिले मिडियाहरूले कन्टेन नहेरेर चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु।’ उनले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने पनि बताए।













