काठमाडौं- आफूले धेरै मानसिक यातना भोग्नु परेको भन्दै सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले मुख खोलेका छन् ।धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चितवन पुगेर मुख खोलेका हुन् ।आफूहरुमाथि लागेका आरोपबारे फेसबुक लाइभ मार्फत उनले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न आफू तयार रहेको उल्लेख गरे ।
केही भावुक तथा थोरै आक्रोशित रुपमा प्रस्तुत हुँदै उनले भने, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ’, धुर्मुसले भने, ‘तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’
जनताको रगत र पसिना बगेको यस निर्माणाधिन रंगशाला निर्माणका लागि आफूले सिंहदरबारदेखि नेताका घरघरमा हारगुहार गर्न पुगेको उनले बताए । साथै उनले धुर्मुस–सुन्तलीमात्रको रंगशाला भनेर गलत खालका प्रचार गर्नेहरु प्रति आक्रोश पोख्य ।
उनले सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको बताउनु भयो । सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनको भनाई थियो ।













