बैतडी- भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ ।
यहाँका सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रुपमा स्वदेश फर्किनेको क्रम पनि बढेको हो । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरुमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए ।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको उनले बताए। सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ ।













