धनगढी । सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरको कमान्ड सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) साजेन्द्र प्रसाद श्रेष्ठले सम्हालेका छन् । यसअघि इन्सपेक्टरको कमाण्डमा रहेको उक्त बिओपी अब भने डिएसपीको कमाण्डमा रहने भएको हो ।
पछिल्लो आठ महिनादेखि कैलालीको कैलाली गाउँपालिका-३ स्थित सशस्त्र प्रहरी बल खोनपुरको कमान्ड सम्हालेका सशस्त्र प्रहरी निरीक्षक सुबास खत्रीको सरुवा भएसँगै बिओपी खोनपुरको कमान्ड डिएसपी श्रेष्ठले सम्हालेका छन् । सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठलाई बिओपी खोनपुरमा स्वागत गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा इन्सपेक्टर सुबास खत्रीको बिदाइ समेत गरिएको थियो ।
बिओपी खोनपुरको कमान्ड डिएसपी श्रेष्ठले सम्हालेसँगै खुला सिमानाका भएर हुने अवैध तस्करी, दशगजा क्षेत्रमा हुने चोरी-पैठारी, लागुऔषको अवैध व्यापार नियन्त्रण हुने विश्वास गरिएको छ ।
यस्तै बिओपी छोटी पलिया, भुइयाफाटा र लठ्ठाघाट पनि सशस्त्र प्रहरी बल, बिओपी खोनपुरको कमान्ड डिएसपी श्रेष्ठकै निगरानीमा रहने भएको छ ।















