काठमाडौँ – नेपालमा हाल स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागलगायत सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।
अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।















