काठमाडौं- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन्। शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
न्यौपानेले माघ २१ र २२ गतेको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखेकोमा अहिलेसम्म पनि छलफल नभएको भन्दै पार्टी सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका छन्।
नेता न्यौपानेले नेतृत्व कोठे राजनीतिको चंगुलमा फसेकाले अब एकीकृत समाजबादी पार्टीकाे भविष्य समेत नभएको बताएका छन् ।
‘म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टीको सदस्य भएर बस्तु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जिवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टी जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।’ न्यौपानेले भनेका छन्।













