बैतडी- बैतडीका दुई स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स तीन वर्षमै फिर्ता गरेका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स ग्रामीण सडकमा सञ्चालनमा समस्या आएको भन्दै फिर्ता पठाएका स्थानीय तहहरूले जनाएका छन् ।
पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स बेलाबेला बिग्रने र मर्मत खर्च धेरै नै आउन थालेपछि फिर्ता पठाएको बताइन् । कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाइएको हो ।
मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्सहरू पहाडी जिल्लाका ग्रामीण सडकहरूमा सञ्चालन गर्न असहज हुने गरेको गुनासो बढेको छ । एकपटक बिरामीलाई बोकेको अवस्थामा मर्मत गर्नैपर्ने स्थितिका एम्बुलेन्स रहेको एम्बुलेन्स चालकहरूले बताएका छन् । उनीहरुका अनुसार पहाडी क्षेत्रमा थोरै स्पिड लगाउँदा हल्लिने, ब्रेक नलाग्ने, स्पिड नहाँकिनेलगायतका समस्या आउने गरेको थियो ।
सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिक १७ गते गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । पञ्चेश्वरको कुलाउ स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो ।
डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता यज्ञ भट्टले बताए । बेलाबेलामा बिग्रने र मर्मत खर्च धेरै आउने समस्याले गर्दा एम्बुलेन्स एक वर्षदेखि ठप्प थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको थियो ।













