बैतडी- बैतडीमा गिट्टीको थुप्रोमा भेटिएको शरीरबिनाको टाउको पहिचान हुन सकेको छैन। जिल्लाको पाटनमा गत आइतबार सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा फेला परेको मानिसको टाउको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि प्रहरीले पहिचानका लागि अनुसन्धान गरिरहेको बताएको छ। हाल टाउको परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। आइतबार नै टाउको परीक्षणका लागि अस्पतालमा पुर्याएको र रिपोट आउन बाँकी रहेको प्रहरी निरीक्षक जोशीले बताए।
टाउकोको डिएनए परीक्षणका लागि समेत पठाइने उनले बताए । घटनाको अनुसन्धान भइरहेको उनले दाबी गरे। यता बाचपानी क्षेत्रमा समेत प्रहरीले आफ्नो अनुसन्धानलाई केन्द्रित गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । बाचपानीबाट ल्याएको गिट्टीमा टाउको फेला परेपछि सो क्षेत्रमा पनि प्रहरीले अनुसन्धान बढाएको उनले बताए।













