चितवन- भरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद गुज्रेका सामग्री र अखाद्य वस्तु फेला परेको छ । भरतपुर महानगरपालिकाले गरेको खाद्यान्न सम्बन्धी अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटदेखि सडक किनारमा बिक्री गर्दै आएको जुस पसलसम्म मानव स्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने सामग्री पाइएको हो । भाटभटेनीले न्यून गुणस्तरीय र म्याद सकिएको सामान बेचेको भन्ने गुनासो आएपछि अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिग्रिएको निउरो, साग फेला परेको भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए। बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।
त्यस्तै, भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको हो । अनुगमन टोलीले भाटभटेनीको स्टोर रुमको पनि निरीक्षण गरेको थियो ।















