धनगढी- सुदूरपश्चिम प्रदेश सभा बिजनेसविहीन बनेको छ । निर्वाचनपछि प्रदेश सभा सुरु भएको साढे आठ महिनामा २२ वटा बैठक बसेका छन्, तर सदनको मुख्य काम कानुन बनाउने विषय भने ओझेलमा परेको छ ।
दोस्रो प्रदेश सभा सुरु भएयता सरकारले प्रदेश सभामा एउटा विधेयक पनि दर्ता गरेको छैन । विधेयक नहुँदा प्रदेश सभा ठप्प छ । सदनका विषयगत समितिले नेतृत्व पाएका छैनन् ।
निर्वाचनपछि दोस्रो प्रदेश सभाको पहिलो बैठक गत १८ पुसमा बसेको थियो । संसद् सचिवालयका अनुसार सांसदको आठ महिनाको तलब सुविधा र यस अवधिमा बसेका २२ वटा बैठक भत्तामा मात्रै करिब सवा तीन करोड रुपैयाँ भएको छ, तर कानुन बनाउने थलो सदनबाट साढे आठ महिनामा एउटै कानुन बन्न सकेको छैन ।
‘बिजनेस नहुँदा सदन चलाउन सकिएको छैन, बैठक बस्न सकेका छैनन्,’ सभामुख भीमबहादुर भण्डारीले भने, ‘सदनलाई बिजनेस दिन प्रदेश सरकारलाई बारम्बार आग्रह गरेका छौँ ।’ सदनलाई कामविहीन बनाएको भन्दै उनी सरकारसँग असन्तुष्ट छन् । सदनलाई बिजनेस नदिएकोमा सांसदहरू पनि सरकारप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
गत ३० असारको राति बजेट पारित गरेपछि ४ भदौमा बसेको बैठकले प्रदेश सभा नियमावली संशोधनका लागि समिति गठन गरेको थियो । त्यसयता प्रदेश सभा बैठक बसेको छैन । एउटा विधेयकमा सामान्य केही शब्द संशोधन गर्नेबाहेक सदनमा विधेयकमाथि छलफल नै नभएको सभामुख भण्डारीले बताए । सदन कामविहीन बनाइँदा संघीयताविरुद्ध उठ्ने गरेका प्रश्नलाई बल मिलेको उनको भनाइ छ ।
सभामुख, उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिने र बजेटमाथिको छलफल तथा पारित गर्ने प्रयोजनका लागि मात्र बैठक बसेको सचिवालयले जनाएको छ । सरकारबाट विधेयक नआएकाले विधेयकमाथि छलफलको प्रयोजनका लागि एउटा पनि बैठक नबसेको सभामुख भण्डारीले बताए ।
सरकारको बेवास्ताले सदन आफ्नो मूल कामबाट विमुख भएको पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । सदन नचल्दा जनजीविकाका विषय उठाउन नपाएको रावलले बताए । ‘विधायिकाको मुख्य काम कानुन बनाउने हो, तर सदन चलाउन सरकार अनिच्छुक हुँदा सदन यो कामबाट विमुख भएको छ, सदनले आफ्नो काम गर्न सकेको छैन,’ उनले भने, ‘मुख्यमन्त्रीले सदनलाई छलेर सरकार चलाउन खोजेका छन् ।’
गत ३० असारमा बजेट पारित गरेपछि ४ भदौमा बसेको बैठकले प्रदेश सभा नियमावली संशोधनका लागि समिति गठन गरेको थियो । त्यसपछि अर्को बैठक बसेको छैन । सत्तारूढ माओवादीका सांसद शिवसिंह ओलीले लामो समय सदनलाई बन्धकजस्तै बनाइँदा सांसदहरूले जनजीविकाका कुराहरू सदनमा उठाउन नपाएको बताए । ‘पहाडी जिल्लामा खाद्यान्न संकट भएको कुरा आएको छ, बाढीपहिरोले नागरिक पीडित बनेका छन्, बालीनालीमा क्षति भएको छ,’ उनले भने, ‘यी विषय सदनमा उठाउन नपाउँदा जनतामा जनप्रतिनिधि हराए कि भन्ने पर्न थालेको छ ।’ एक वर्ष पुग्न लाग्दासमेत सदनले एउटा पनि कानुन बनाउन नसक्नुले प्रदेश संरचनाप्रति नै प्रश्न उठ्ने ठाउँ पाएको उनको भनाइ छ । केही दिनअघि भएको माओवादी संसदीय दलको बैठकमा पनि सांसदहरूले सदन चलाउनुपर्ने आवाज उठाएका थिए ।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले दुईवटा विधेयक प्रदेश सभामा पेस गर्ने तयारी रहेको जानकारी दिएका छन् । संघीय निजामती ऐनलगायत कतिपय ऐन नआउँदा प्रदेश सरकारलाई ऐन बनाउन समस्या भएको उनले बताए । ‘निजामती ऐन नआउँदा पनि प्रदेशमा गाह्रो भइरहेको छ । सरकार गठनमा समय लागेकाले पनि सदनलाई बिजनेस दिनेमा समस्या भएको हो,’ भट्टले भने । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । नयाँपत्रिकाबाट













