धनगढी- कैलालीका दुई घरमा चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ र गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालामा चोरी भएको प्रहरीले जनाएको छ । पौष २० गते चोरहरूले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन्।
धनगढी वडा नम्बर ४ का तीर्थराज न्यौपानेले घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको बताएका छन्। उनले आफू बुटवलबाट धनगढी घर आउँदा घरभित्र रहेका सबै गरगहना र नगद चोरी भएको थाहा पाएको बताए।
प्रहरीलाई घटनाका बारेमा खबर गरेको भएपनि अहिलेसम्म चोरी भएको सुन फेला नपरेको बताएका छन्। त्यस्तै साढे ६ तोला सुन र चार हजार नगद कैलालीकै एक अर्को घरबाट पनि चोरी भएको छ। यही पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको हो।
चोरले छड्के तिलहरी एक तोला, माइली तिलहरी पाँच आना, पाइप जन्तर ७ आना,झुम्का १२ आना, हार साढे एक तोला र रानी हार ४ आना चोरी भएको बताए । गरगहना चोरी भएको विषयमा प्रहरीमा निवेदन दिए पनि अहिलेसम्म खोजी कार्य नभएको थापाले गुनासो गरे।
त्यस्तै चोरले मोती क्लिक १५ आना,शिरबन्दी पाँच आना,टप तीन आना,औँठी ६ आना र बाला एक तोला घरभित्रबाट गायब भएको थापाले बताए। गरगहना हराएको भन्दै पीडितले प्रहरी कार्यालय र नेपाल सुनचाँदी व्यवसायी महासंघमा खोजी कार्य र सहयोगका लागि निवेदन दिएका छन्। सो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















