धनगढी- पुल पुलेसा निर्माणमा ठेकेदारबाट कतिसम्मको ढिलासुस्ती र लापरबाही हुन्छ भन्ने उदाहरण धनगढी उपमहानगरपालिका–१६ स्थित घुरही खोलामा निर्माणाधीन पुल बनेको छ । थारू होमस्टे गाउँ भादा जाने बाटोमा पर्ने खोलामा निर्माणाधीन यो पुलको समायवधि सकिए पनि निर्माण हुन सकेको छैन । २०८० साल असोज मसान्तभित्र नै पुल बनाइसक्ने ठेक्का पाएको टेडी मित्र जेभीले म्याद सकिँदासम्म पुल निर्माणको प्रारम्भिक कार्य पनि गरेको छैन ।
धनगढी उपमहानगरपालिकाले २०७८ साल कात्तिक १६ गते भ्याटसहित तीन करोड दुई लाख ५४ हजार रुपियाँमा टेडीसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ठेक्का पाएको कम्पनीले ठेक्का सम्झौता सकिँदासम्म पुरानो पुल भत्काएर नयाँ पुल बनाउन पोखरी जस्तो खाल्डो खन्नुबाहेक केही काम गरेको छैन ।
निर्माण कम्पनीले भएको पुल पनि भत्काएर नयाँ पुल बनाउनका लागि काम नगरेको थारू होमस्टे गाउँ भादा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । पुल नहुँदा आवातजावतमा निकै समस्या भइरहेको उनको भनाइ छ । “पुल नबनेकाले भादा आउन चाहेका पाहुना बाटोबाटै फर्किने अवस्था छ,” अध्यक्ष चौधरीले भने।
“समस्या भयो, चाँडै बनाउनका लागि पहल गरिदिनूस् भनेर मैले धनगढी नगर प्रमुख गोपाल हमाललाई आग्रह गरेको थिएँ, “उनले तीन दिनमै सुरु हुन्छ भन्नुभएको थियो तर पनि पुल निर्माणको कार्य अझै अलपत्र छ,” अध्यक्ष चौधरीले थपे ।
यसअघि सो ठाउँमा सानो पुल थियो । त्यो पुल जीर्ण बनेपछि धनगढी उपमहानगरपालिकाले नयाँ पुल बनाउन लागेको हो । पुल निर्माणमा ठेकेदारले धेरै ढिलाइ गर्दासमेत काम चाँडै अगाडि बढाउनका लागि धनगढी उपमहानगरपालिकाले ठेकेदारलाई घचघच्याउने काम नगरेको भादा गाउँवासीको आरोप छ ।
पुल निर्माण कार्यलाई कम्पनीले दुई वर्षदेखि अलपत्र छोड्दा भादा, सामरचौरा, घुरही, सिमराना, गदरिया, खुरखुरियालगायतका गाउँवासीलाई आउजाउ गर्न समस्या भइरहेको छ । निर्माण कम्पनीका ठेकेदार सिद्ध ओलीले माघ पर्व सकिएलगत्तै काम सुरु गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष रामलाल चौधरीले बताए ।
उनले भने, “अहिले कामदार पनि छैनन् भनेर ठेकेदारले माघ पर्वपछि काम गर्ने प्रतिबद्धता जनाएका छन् । माघमा पनि काम सुरु भएन भने उनको घरमै गएर तानेर ल्याउँछौँ र काम गर्न लगाउँछौँ ।”
पहिलो चरणको निर्माण समयवधि सकिएपछि सो पुल निर्माणका लागि आगामी वर्षको असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ । सो समयावधिभित्र निर्माण कम्पनीले पुल निर्माण नगरेमा ठेक्का तोडेर कारबाही गरिने धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले बताए ।















