धनगढी- कैलालीका विभिन्न स्थानबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटेयारीबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने वर्ष २० को राघव चौधरी पक्राउ परेका हुन् । बिहीबार दिउँसो वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागु औषध फेला पर्दा पक्राउ गरेको हो ।
यस्तै गोदावरी नगरपालिका–८ स्याउले भित्री सडक खण्डबाट ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित धनगढी उपमहानगरपालिका–११ बस्ने वर्ष २६ का दानबहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध फेला पर्दा पक्राउ गरेको हो ।
यस्तै टीकापुर नगरपालिका– १ जमरा पारी टिकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट एक ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने वर्ष २० को सागर चौधरी र टीकापुर नगरपालिका–९ बस्ने वर्ष ३२ को राजकुमार चौधरीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागु औषध फेला पर्दा पक्राउ गरेको हो । पक्राउ परेका तीन जना माथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।













