धनगढी- मुक्त हलियाको न्यायिक पुनःस्थापनाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । मुक्त हलिया समाज महासंघ नेपालले आज धनगढीमा आयोजना गरेको मानव अधिकारकर्मी,सामाजिक अभियन्ता तथा नागरिक संगठनको सहकार्यमा मुक्त हलियाको न्यायोचित पुनःस्थापनाका लागि योजना तथा रणनीतिक तर्जुमा र सिकाइ आदान प्रदान सम्बन्धि प्रदेश स्तरीय अर्धवार्षिक सञ्जालीकरण गोष्ठीका सहभागीहरुले मुक्त हलियाको पुनःस्थापनाका लागि सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा बोल्दै संविधानसभा सदस्य हरि श्रीपाइलीले हलिया आन्दोलनबाट धेरै उपलब्धी भएको बताउँदै मुक्त हलियाका सवालहरु संविधानमा दर्ज गर्न र राजनैतिक दलका घोषणा पत्रमा दर्ज गर्न सफल भएको धारणा राखे । ‘केही पुनःस्थापनाका काम पनि भएका छन् ।’ उनले भने ‘तथ्यांक संकलनको काम पनि भएको छ । तर शिक्षा,स्वास्थ्य,रोजगारीका क्षेत्रमा जति काम हुनु पर्ने हो त्यो हुन सकेको छैन् । यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । यसका लागि सरकारलाई दवाब दिन आवश्यक छ ।’ केही पुनःस्थापनाका काम पनि हुन बाँकी रहेको,तथ्यांक संकलनमा पनि छुटेको उनले बताए । यसका लागि नीतिगतरुपमा अगाडि बढ्नु पर्ने र स्थानीय सरकारमा बढी केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।
आनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’का सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले पुनःस्थापनाका लागि हिजोका दिनमा चुकेका कुराहरुका समिक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउँदै पुनःस्थापनाको दिगो आधार खोजेर अगाडि बढ्नुपर्ने बताए । उनले मुक्त हलिया आन्दोलन साझा आन्दोलन हुन नसकेको बताउँदै मुक्त हलियाको पुनःस्थापना शिक्षा,स्वास्थ्यलगायतका क्षेत्रमा सरकारको ध्यान जान आवश्य रहेको बताए ।
मुक्त कमैया समाजका अध्यक्ष पुशपति चौधरीले प्रदेश सरकारले पारित गरेको मुक्त हलिया,कमैया,कम्लरी पनःस्थापना कार्यविधी कार्यान्वयनमा जोड दिनु पर्ने धारण राखे । राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र विकले हलियाको पुनःस्थापनाका सवालमा बिगतमा भएका कमजोरीको समिक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले मुक्त हलियाको हालको समग्र अवस्थाको बारेका प्रस्तुतिकरण राखेका थिए । प्रस्तुतिकरण राख्दै बोहराले सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका तीन जिल्ला गरि नेपाल सरकारबाट प्रमाणिकरण भएका १६ हजार नौ सय ५३ घरधुरीमध्ये १३ हजार पाँच सय ४६ घरधुरीले पुनःस्थापन प्याकेज पाएको बताए ।
उनले १४ हजार दुई सय ४६ जनाले परिचयपत्र प्राप्त गरेको तथा एक हजार एक सय ३५ परिवारले परिचय पत्र पाएर पनि पुनःस्थापना प्याकेज नपाएको तथ्यांक प्रस्तुत गरे ।
हाल मुक्त हलियाको पुनःस्थापनाका लागि सुदूरपश्चिम प्रदेशका १८ वटा पालिकाले कार्यविधी पास गरेको उनले बताए । त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वारले मुक्त हलिया परिवारका प्रमुख समस्या आगामी बाटोका बिषयमा प्रस्तुति राखेका थिए । राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा भएको गोष्ठीमा महासचिव मंगल सार्कीले स्वागत मन्तव्यसहित कार्यक्रम बारे जानकारी दिएका थिए ।















