धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम प्रदेश सभाको एउटै बैठकबाट पारित भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भई सोही बैठकबाट पारित गरिएको हो ।
समय घर्किसकेपछि ल्याइएको नीति तथा कार्यक्रममाथि व्यापक छलफल गर्न समय नभएकोले एकै दिनमा पारित गरिएको जनाइएको छ । यसअघि बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्त पनि एकै बैठकबाट पारित गरिएको थियो ।
जेठ २० गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जेठ २१ गते बसेको बैठकले प्रदेश प्रमुख मियाँलाई धन्यवाद दिंदै स्थगित भएको थियो ।
त्यसपछि आज बसेको बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सभाबाट पारित भएपछि नीति तथा कार्यक्रममाथि १२ जना सांसद्ले छलफलमा भाग लिएका थिए ।
ति मध्ये प्रतिपक्ष नेपाली कांग्रेसका सांसद्हरुले नीति तथा कार्यक्रमको विरोध जनाएका थिए भने सत्ता गठबन्धनका सांसद्हरुले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए ।
यस अघिका वर्षहरु नीति तथा कार्यक्रम र बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तमाथि सभामा रहेका सबै जना सांसद्हरुले बोल्ने पालो सकिएपछि मात्रै पारित गरिदै आएको थियो ।













