धनगढी- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेताले आफू खुशी मन्त्रीका नाम सिफारिस गरेको भन्दै माओवादी केन्द्रका पाँच जना सांसदले मन्त्री नियुक्ती प्रकृया रोक्न मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज पत्राचार गरेका छन् ।
पाँच जना सांसदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ‘नेकपा (माओवादी केन्द्र) को संसदीय दल र पार्टीमा छलफल नगरी संसदीय दलका नेताले आफू खुसी मन्त्रीहरुको नाम पेश गरेको भन्ने बुझनमा आएको छ ।’
‘सम्बन्धित दलको परामर्श विना सिफारिस गरिएका नाममा हाम्रो गम्भीर आपत्ति रहेको व्यहोरा जानकारी गराउँदै मन्त्री नियुक्तीको प्रक्रिया अबिलम्ब रोक्न अनुरोध समेत गर्दछौँ’ मुख्यमन्त्रीलाई लेखिएको पत्रमा उल्लेख छ ।
पत्रमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य खगराज भट्ट,झपटबहादुर साउद,शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रबाट ओमविक्रम भाट,अक्कल रावल र लक्ष्मी विकलाई मन्त्री बनाउन सिफारिस गरिएको जनाइएको छ ।














