धनगढी- विद्यार्थीको शैक्षिक उपलब्धी बढाउन सरोकारवाला सबैले जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । मंगलबार धनगढीमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले धनगढीमा आयोजना गरेको नतिजा प्रबोधिकरण गोष्ठीमा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रम्ख खगेन्द्रबहादुर सिंहले शिक्षाको गुणस्तर तथा विद्यार्थीको सिकाईमा स्थानीय तहको निर्देशनले मात्रै प्रगति नहुने बताउँदै समयानुसार शिक्षा प्रणालीमा आमुल परिवर्तनको आवश्यकतामा जोड दिए । यस्तै, शिक्षक अध्यापन अनुमतिपत्र अनिवार्य गरिँदा गणित, विज्ञान विषयका शिक्षक पाउन समस्या भैइरहेको त्रिभुवन माध्यमिक विधालय धनगढीका प्रधानाध्यापक सीताराम अवस्थीले बताए । यस बारेमा सोच्नुपर्ने उनको भनाई थियो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले विधार्थीको सिकाई उपलब्धी तथा नतिजा परीक्षण गर्दा एकले अर्कोलाई दोष देखाएर पन्छिने प्रबृति राम्रो नभएको बताए । उनले शैक्षिक उपलब्धिका लागि आ–आफ्नो ठाउँमा इमान्दारिता र नैतिकता देखाउनुपर्ने बताए । गोष्ठिमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले विद्यार्थीको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण, विधालय तथा शैक्षिक निकायहरुको कार्यसम्पादन, प्रारम्भिक बाल विकास केन्द्रका बालवालिकाको सिकाइ तथा विकास स्तर परीक्षण लगायतका कार्यहरु केन्द्रले गर्दै आएको बताए ।
सर्वेक्षणमा सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयको शैक्षिक उपलब्धि राम्रो देखिएको र कार्यसम्पादन परीक्षणको नतिजा अनुसार कमजोर, समान्य, मध्यम र उच्चतम गरी विद्यालयलाई विभाजन गरिएको उनले बताए । कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले राज्यको लगानीको प्रतिफलमा राज्य,संस्था,व्यक्ति सबैले ध्यान दिनुपर्ने बताए । शिक्षक,विद्यार्थी,अभिाक सबैले आ–आफ्ना कमजोरी पहिल्याएर अगाडि बढ्नुपर्ने उनले बताए ।














