धनगढी- भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका १६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका १३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका९२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् ।
कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बर्दिया, बढैयाताल गाउँपालिका९२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका९१० बस्ने २० वर्षीय प्रदीप बुढालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नुवाकोट, ककनी गाउँपालिका९१ ताम्सालिङगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित सोही गाउँपालिका९२ बस्ने २४ वर्षीय सविन तामाङ समेत २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले ककनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७७ प ५५८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका ५ गेटास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका १३ बस्ने २८ वर्षीय कमल भट्टलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, देवानगंज गाउँपालिका ७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलो २ सय ग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुपौल तिनटोलिया पंचायत प्रतापगंज थाना बस्ने २९ वर्षीय सुनिल कुमार यादव र देवानगंज गाउँपालिका९२ बस्ने २४ वर्षीय रणधिर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका ११ धुलिया बिट बस्ने २१ वर्षीय बिबेक बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय ९० मिलिग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बागलुङ, ढोरपाटन नगरपालिका९१ बुर्तिबाङस्थित मिना एण्ड लप्सन खाजा घर संचालन गरी बस्ने ५० वर्षीय धन बहादुर भण्डारीलाई अवैध लागूऔषध गाँजा १ किलो ५० ग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनको खाजा पसल तलासी गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका ६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित दमक नगरपालिका ८ किरात चोक बस्ने २३ वर्षीय रमेश दर्जीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाजुराको बुढिगंगा नगरपालिका ७ वायल गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ६ सय १० मिलिग्राम र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका ५ बस्ने बस्ने २६ वर्षीय दिपक रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खड्काको कुखुरा फर्म तलासी गर्दा फर्ममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका ४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ४ मेघावारी घर बताउने २९ वर्षीय सुवास ताजपुरिया र सोही ठाउँ बस्ने २१ वर्षीय अम्मर कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित काठमाडौं महानगरपालिका २६ लैनचौर बस्ने पाँचथर फालेलुङ गाउँपालिका ५ घर भएका २४ वर्षीय कृष्ण बहादुर लायोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका ९ बस्ने ३१ वर्षीय इकेश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय, ६ लाख रूपैयाँ जरिवाना तथा पिडित राहत कोषमा २४ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।
वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी पक्राउ
वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-२ दैजी बस्ने मोहन जंग रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरको २०७३ माघ १३ गतेको फैसलाले उक्त मुद्धामा ५ महिना ५ दिन कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं महानगरपालिका- ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रौतहटमा १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रामले ती किशोरीलाई बिहीबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खोटाङमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका९२ बस्ने २५ वर्षीय ढक बहादुर रानामगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई सोही ठाउँस्थित खाली घरमा लगेर सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१ हजार ५ सय ६२ किलो ५ सय ग्राम गाँजा बरामद
मोरङको धनपालथान गाउँपालिका९७ बस्ने ३० वर्षीय राजकुमार सिंहको गोठबाट अवैध लागूऔषध गाँजा १ हजार ५ सय ४८ किलोग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । सिंहको गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ४१ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । साथै गोठधनी सिंहलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको गल्छी गाउँपालिका ७ छाडेस्थित सडकबाट अवैध लागुऔषध गाँजा १४ किलो ५ सय ग्राम बिहिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीलाई देख्नासाथ बाप्र०२९०२८ प ७९२८ नम्बरको मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना व्यक्तिहरू मोटरसाइकल र जेब्रा झोला छाडी फरार भएपश्चात प्रहरीले झोलाबाट उक्त गाँजा बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
गुल्मीको रेसुङ्गा नगरपालिका-४ रायढुङ्गास्थित सडकमा लु.४ त २४६५ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार मालिका गाउँपालिका-२ दर्लिङ बस्ने टिकाराम विकको छोरा ६ वर्षीय शिब विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालकको सोही अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका ७ लेटाङ मोडस्थित सडकमा प्रदेश १-०१-००१ च ७६८६ नम्बरको बोलेरो पिकअप गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । बिहीबार बेलुकी ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर मंगलबारे हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलबस्तु, बुद्धभुमि नगरपालिका-९ ईमिलियास्थित सडकमा सुप्र ०१-००१ ख ३३५३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको छ । बिहीबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
रौतहटको बौधिमाई नगरपालिका९६ पिपरिया टोल बस्ने ७० वर्षीया बसमतिया देवीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको लाईन तारको होल्डरमा बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो । रूपन्देहीको सैनामैना नगरपालिका-६ भरतपुर बस्ने केश बहादुर ठाडा मगरकी छोरी ३ वर्षीया प्रिया ठाडा मगरको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । घर नजिकै पसलमा सामान किन्न गएको अवस्थामा पसलको फ्रिजको पछाडिको भागमा हात राख्दा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
सुर्खेतको लेकवेशी नगरपालिका-१० ढकेन बस्ने ३५ वर्षीया खगिसरा खत्रीको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाएर मृत्यु
झापाको गौरीगञ्ज गाउँपालिका-१ बस्ने ४० वर्षीय लुखीराम मुर्मुको सोही ठाउँस्थित कमल खोलाले बगाएर बिहीबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौककी कुञ्जिबारी र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गौरीगञ्ज गाउँपालिका गाचचौरीस्थित कमल खोलाको किनारमा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबानमा परी कार चालकको मृत्यु
काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने बा प्र २७ च ०४९१ नम्बरको कारका चालक ४० वर्षीय पुर्ण दर्नालको डुबानमा परी गएराति मृत्यु भएको छ । सोही नगरपालिका ६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा दर्नालले चलाएको उक्त कार डुबानमा परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
ललितपुरको ललितपुर महानगरपालिका १८ नख्खुस्थित चितवन कोई नेपाल कन्ट्रक्सनमा काम गर्ने चितवन घर भएका ४५ वर्षीय अर्जुन प्रसाद पौडेल कन्ट्रक्सनभित्र रहेको टहरे चियापसलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गोरखा, सिरानचोक गाउँपालिका ५ एक्लेफाँटमा सोही गाउँपालिका-५ जरेवर बस्ने ३७ वर्षीय राम बहादुर बानियाँ बिहीबार मृत अवस्थामा फेला परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ याङ्सिबुङ बस्ने खेम बहादुर आङ्देम्बेको छोरा १६ वर्षीय टथेन आङ्देम्बे सोही गाउँपालिकाको वडाध्यक्षको घर बाहिर खाटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका ४ स्थित पाथीभरा भेनियर उद्योग नजिक सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका पुरूष बिहीबार सडिगलेको अवस्थामा मृत फेला परेका छन् । गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोकस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पहिरोका कारण विभिन्न ९ स्थानका सडक अवरोध
अविरल वर्षाको कारण बिहीबार बिहान पहिरो जाँदा मकवानपुर, बैतडी, अछाम, कालिकोट, सुनसरी, दैलेख, हुम्ला, सल्यान गरी १० ठाउँमा सडक अवरोध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ महादेवटारस्थित कान्ती लोकपथ सडक खण्ड, बैतडीको पाटन नगरपालिका ८ खोड्पेस्थित खोड्पे९बझाङ सडक खण्ड, अछामको साँफेबगर नगरपालिका-१३ बुढाबगरस्थित साँफेबगर९मार्तडी सडक खण्ड, कालिकोटको शुभकालिका गाउँपालिका १ गगनेस्थित कर्णाली राजमार्गमा पहिरो गई सडक अवरोध भएको हो । यसैगरी कालिकोट, खाँडाचक्र नगरपालिका ७ पिली विर्तामोडस्थित कर्णाली राजमार्ग, सुनसरी, बराहक्षेत्र नगरपालिका १ धनसारे खोलास्थित चतरा-बराहक्षेत्र सडक खण्ड, दैलेख, चामुण्डा बिन्दासैनी नगरपालिका-९ स्थित पादुका र सांगेतडास्थित कर्णाली राजमार्ग, हुम्ला, अदानचुली गाउँपालिका २ कर्णाली करिडोर र सल्यान, बागचौर नगरपालिका २ रारेचौरस्थित राप्ती राजमार्ग अन्तर्गत सडक खण्ड पहिरोका कारण अवरोध भएको छ ।
पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुको साथै सम्बन्धित निकायको समन्वयमा अवरोध सडक खुलाउने प्रयास गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रामेछापको मन्थली नगरपालिका १४ फुलासी बस्ने डम्बर बहादुर तामाङको घरमा विद्युत सट भई गएराति आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात लगायतका सरसामन पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका-८ स्थित प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङ गरी राखेको सिम्रन कन्ट्रक्सन प्रालि महतगौडाको जेसिबी कम्पनीको रोलर मेशिनमा गएराति आगलागी हुँदा रोलरको फलामको भाग बाहेक अरू पूर्णरूपमा क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
विभिन्न धनमाल चोरी
धुलिखेल नगरपालिका ३ बाँसघारी बस्ने ५५ वर्षीय सानु कान्छा श्रेष्ठको घरबाट बिहिबार कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना र नगद गरी करिब २८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
प्युठानको झिमरूक गाउपालिका४ मच्छीस्थित गाउँपालिकाको सभाहलमा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यलय प्युठानको समन्वयमा झिमरूका गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो । शिक्षाविद् प्राडा विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा झिमरूक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, झिमरूक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन कुमार शाही, झिमरुक गाउँपालिका अन्तर्गत रहेका विद्यालयरूको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।













