धनगढी- सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजिनामा माग गरेका छन् । शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस,नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोडारीको राजिनामा माग गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ । उहाँले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन ।’ उनले भने ‘अल्मतमको सरकारले केही ठूला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं ।’
पत्रकार सम्मेलनमा बोल्दै एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा)ले मुख्यमन्त्री सोडारीले राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न आग्रह गरिन् । उनले भनिन् ‘हामी नयाँ गठबन्धन अनुसार बहुमत सदस्य एक मत छौँ । मुख्यमन्त्री सोडारीले बिश्वासको मत पाउने सम्भावना छैन । त्यसकारण उहाँले मार्ग प्रसस्त गर्नुपर्छ ।’
यस्तै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीले अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले कुर्सीमा बस्न उचित नभएको बताए ।
केन्द्रमा सत्ता समिकरण फेरिएपछि यहाँ एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा परेका छ । समिकरण फेरिएपछि असार १ गते पेश भएको बजेटमाथिको छलफल हुन सकेको छैन ।













