धनगढी–कैलालीमा गएराती देखि भएको भारी वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीले बस्ती डुबानमा परेका छन् ।
जिल्लाका विभिन्न पालिकाका बस्ती बाढीले डुबानमा परेका हुन् । वर्षाका कारण कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकाका ७२ घर डुबानमा परेका छन् ।
कैलारी गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर ५ स्थित मनिकापुरमा ३६ घर, वडा नम्बर ७ स्थित छटकपुर बसन्तामा २५ घर र वडा नम्बर ८ स्थित भंगहामा ११ घर डुबानमा परेका छन् ।
डुबान भएको गाउँमा उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधि लगायतका व्यक्ति खटेको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले जानकारी दिए ।
यस्तै, कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाको विभिन्न क्षेत्रमा डुबान गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तिपुर, गौरीगंगा नगरपालिका–७ र कैलारीमा डुबान भएको खबर आएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका नरेन्द्र बोहराले जानकारी दिए ।













