धनगढी- सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रदेश सरकारले छिट्टै अपाङ्गता नीति ल्याउने बताएकी छन् ।
शुक्रबार ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले धनगढीमा आयोजना गरेको समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी प्रदेश स्तरीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
बिगतमा भन्दा पछिल्लो समयमा हरेक क्षेत्रमा समावेशी शिक्षामा प्रयास भएको बताउँदै उनले प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा नीतिगत व्यवस्था नै गर्ने बताइन् । उनले भनिन् ‘समावेशी शिक्षाका लागि हामीले चाहेजस्तो गर्न सकेका छैनौँ । पीडित वर्गले चाहे जस्तो नतिजा निकाल्न सकिएको छैन् ।’
शिक्षा क्षेत्रलाई तीने तहका सरकारले प्राथमिकता दिएको बताउँदै तीन वटै सरकारको समन्वय र सहकार्य पनि आवश्यक रहेको बताइन् । उनले भनिन् ‘शिक्षामा बजेटको सही विनियोजन भएको छैन् । शिक्षाका लागि तीनै तहका सरकार लाग्न जरुरी छ ।’ त्यस्तै उनले प्रदेश सरकार भष्टाचार न्यनिकरण गर्नका लागि लागेको बताइन् । प्रदेश सरकार युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर आगामी दिनमा अगाडि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा चार जना प्यानलिष्ट राखेर प्यानल छलफल पनि गरिएको थियो । प्यानल छलफलमा समावेशी शिक्षाको वर्तमान अवस्था,संघ,प्रदेश र स्थानीय तहमा हाल रहेको समावेशी शिक्षाका नीतिगत व्यवस्था,आगामी दिनमा तीनै तहका सरकारले गर्नुपर्ने काम लगायतका विषयमा छलफल भएको थियो ।
प्यानलिष्टमा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. यज्ञराज पाण्डे,कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा,राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँद र बालक्लवकी सुमित्रा विक रहेकी थिइन् ।
कार्यक्रममा नेपालमा समावेशी र गुणस्तरीय शिक्षाका लागि वर्तमान अवस्था,योजना तथा नीतिका बारेमा विशेषज्ञ डा. बाबुराम ढुङ्गानाले प्रस्तुतिकरण राखेका थिए भने सुदूरपश्चिम प्रदेशमा समावेशी र गुणस्तरीय शिक्षाका लागि वर्तमान अवस्था,योजना तथा नीतिका बारेमा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत गोपालदत्त जोशीले प्रस्तुतिकरण गरेका थिए ।













