धनगढी- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले र नेपाली काँग्रेस दुई ठूला दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताएका छन् ।
नेकपा एमाले केन्द्रीय स्कुल विभागद्धारा आइतबार धनगढीमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहना अनुसार काम गर्दै गएकोले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको दाबी गरे ।
उनले भने ‘दुई ठूला दलबीचको गठबन्धनमा सरकार बनेपछि सत्ताबाट बाहिरिएका नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्तालिँदै गएका छन् ।
पछिल्लो पटक माओवादी पार्टीको आरोलो यात्रा शुरु भएको आरोप लगाउँदै उनले.आगामी निर्वाचनमा माओवादीलाई कसैले बैशाखी नदिए समाप्त भएर जाने दाबी गरे ।
आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एक ढिक्का भएर संगठन निर्माणमा जुटेको बताए ।
उपमहासचिव ज्ञवालीले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशिल बन्न आग्रह गर्दै उनले भनेउहाँलाई आफूले दशौ महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताए ।
गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको उनले बताए । विश्वविद्यालयको विधेयक संसदमा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे ।
केन्द्रीय स्कुल विभागद्धारा आइतबार धनगढीमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ६४ जना सहभागी रहेका छन् । सो कार्यक्रम असोज १ गते सम्म सञ्चालन हुनेछ ।













