धनगढी- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिलाई सही दिसा प्रदान गर्नका लागि कांग्रेस–एमाले मिलेको बताएका छन् । प्रेस चौतारी नेपाल,कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘जनतामा बढ्दो निराशा,कुण्ठा चिर्न,मुलूकको आर्थिक संकट अन्त्य गर्न,विदेशमा युवा पलायनलाई रोकेर राष्ट्र निर्माणमा लगाउनका लागि अहिलेको गठबन्धन बनेको हो ।’
उनले भने ‘राजनीतिक स्थायित्व,राज्यलाई बलियो बनाउन आवश्यक छ । त्यसका लागि दुई ठूला पार्टी मिलेर अगाडि बढ्ने प्रयत्न गरेका हौँ ।’
‘दुई ठूला पार्टी मिल्नुको उदेश्य मुलूकमा लोकतन्त्रलाई सही दिसा प्रदान गर्ने कुरा हो’ उनले थपे ‘संविधान कार्यान्वयनमा एक दशकको समिक्षा गर्न चाहान्छौँ । संविधान कार्यान्वयनका सवल र कमजोर पक्ष खोज्न चाहान्छौँ ।’उनले संविधानमा भएका सबल पक्षलाई सुदृढ गर्दै जानुपर्ने बताउँदै कमजोरी हटाउँदै जानुपर्ने बताए ।
अहिले एमाले नेतृत्वको सरकार बनेपछि मुलुकका व्यवसायी आशावादी बनेको उनले बताए । उनले भने ‘यो सरकार बनेपछि मुलुकको अर्थतन्त्रमा सुधारका लक्षण देखा परेका छन् । राजस्व वृद्धि हुन थालेको छ । लगानीमैत्री वातावरण सिर्जना भएको छ । बैदेशिक लगानी भित्रिने क्रम सुरु भएको छ ।’
त्यस्तै उनले संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणमा कानुन सम्बत कारबाही गर भनेको कुरामा क्लिन चिट पाएको भनेर प्रचार गरिएको कुरा गलत भएको बताए ।













