काठमाडौं। डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरी बीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्यको शुभारम्भ भएको वताए ।
आगामी दिनमा ट्राफिक प्रहरीको कामकारवाहीलाई थप प्रभावकारी वनाउने र आवश्यक समन्वय गर्दै जाने पनि उनले वताए
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने वताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्तमहानिरीक्षकहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, लगायतका वरिष्ठप्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।













