धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ स्याउलेबजारकी शान्ति दमाईले मुक्त हलिया परिचय पाएको लामो समय भएको छ । उनले परिचयपत्र पाएपनि अहिलेसम्म पुनःस्थापनाको कुनै पनि प्याकेज पाएकी छैनन् । जंगलको छेउ खोलाको किनारमा एउटा सानो कच्ची घरमा उनको परिवार बस्दै आएको छ ।
शान्तिले भनिन्, ‘घर मर्मतका लागि पैँसा दिने भनेको थियो । तर अहिलेसम्म पनि केही दिएको छैन् । जंगल किनारको ऐलानी जग्गामा सानो घर बनाएर बसेका छौँ । खेतीपाती गरौँ भने जग्गा छैन् ।’ ‘यहाँ घरबास मात्रै छ । यसमा आँगन समेत छैन,गाईबाख्रा पालौ भने पनि गोठ, खोर बनाउने ठाउँ छैन, तरकारी लगाउने समेत ठाउँ छैन ।’ उनले भनिन् ।
‘दुई छाक टार्न पनि निकै कठिन हुने गरेको छ’ उनले भनिन् ‘पाँच जनाको परिवार छ । घरखर्च चलाउन पनि धौधौ हुन्छ । घरखर्च टार्नका लागि छोराले भारतमा मजदुरी गर्छ ।’

त्यस्तै सोही ठाउँका बले दमाई घर र्मतको पहिलो किस्ता पाएपनि अन्तिम किस्ता नपाएको गुनासो गरे । उनले भने ‘घर मर्मत भनेर पहिलो किस्ता ८६ हजार पाएका हौँ । अर्को किस्ता दिने भनेको थियो । तर अहिलेसम्म पाएका छैनौँ ।’ ‘खोलाको किनारमा बसेका छौँ । कुन दिन बाढीले बगाउँछ भन्ने डर छ’ उनले भने ‘हामीलाई त सरकारले जग्गा पनि दिएको भए हुन्थ्यो । रोजगारी पनि केही छैन् । नौ जनाको परिवार छ । खानलाउन नै मुस्किल पर्छ ।’

जंगलको छेउ भएकाले पकाएको खानासमेत कहिले काहीँ बादरले आएर खाइदिने गरेको उनले दुःखेसो पोखे । ज्याला मजदुरी गरेर खाउ भने पनि काम पाउन समस्या हुने उनले बताए । उनले भने ‘अन्यत्र गएर बसौँ भने जग्गा किन्ने पैसा छैन् । यही दुःख कष्ट झेलेर बसेका छौँ । सरकारले मुक्त त ग¥यो व्यवस्था मिलाई दिएन् । छोराछोरी पढाउन पनि साह्रै समस्या छ,खर्च धान्नै मुस्किल पर्छ, रोजगारी छैन ।’
सोही ठाउँका राम दमाईले पनि घर मर्मतको पहिलो किस्ता मात्रै पाएको सुनाए । उनले भने ‘मैले घर मर्मतको पहिलो किस्ता रकम मात्रै पाएको छु । दोस्रो किस्ता कहिले मिल्ने हो थाहा छैन् ।’ ‘रोजगारी छैन् । मजदुरी गरेर खाने गरेका छौँ । सात जनाको परिवार छ’ उनले भने ‘घर खर्च,बालबच्चाको पढाइ लेखाइ खर्च जुटाउनै गाह्रो छ ।’ सोही टोलमा १४ परिवार मुक्त हलिया बसेकोमा तीन परिवारले पुनःस्थापना कुनै पनि प्याकेज नपाएको जनाइएको छ ।

यी त प्रतिनिधि पात्र मात्रै हुन् । सयौँ मुक्त हलिया परिवार अझै यस्ता समस्यासँग जुधिरहेका छन् । सरकारले ०६५ भदौ २१ गते सुदूरपश्चिमका नौ र कर्णालीका ३ जिल्लाका गरी १२ जिल्लाका हलिया मुक्तिको घोषणा गरेको थियो । मुक्त घोषणा गरेको १६ वर्ष पूरा भइसकेको छ । तर, अझै मुक्त हलियाको पुनःस्थापनाका काम अधुरा रहेको राष्ट्रिय मुक्त हलिया समाज महासंघको तथ्यांक छ ।
नेपाल सरकारले प्रमाणिकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये हालसम्म १३ हजार पाँच सय ४६ परिवारले पुनःस्थापना प्याकेज पाएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी दिए । उनका अनुसार पुनःस्थापना प्याकेज पाएकामध्ये नौ प्रतिशत परिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता पाएका छैनन् । अझै २० प्रतिशत मुक्त हलियाको पुनःस्थापना हुन बाँकी रहेको उनले बताए ।
रोजगारीको अवसर नहुँदा पुनःस्थापना भएका मुक्त हलियाका परिवारलाई गुजारा चलाउन समेत समस्या भएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले बताए । उनले भने ‘रोजगारी छैन, शिक्षा स्वास्थ्यका सवालहरूमा पनि समस्या छ ।’ अध्यक्ष सुनारले आर्थिकरूपमा सवल बनाउन उनीहरूमा भएको सीपलाई आधुनिकीरण गरिदिने, पुँजी दिएर स्वरोजगार बनाउन सरकारले पहल गर्नुपर्ने बताए ।
‘परिचयपत्र पाएका सबैको पुनःस्थापना हुन सकेको छैन, अझै परिचयपत्र नपाएकाहरु पनि छन् । यसमा तीनै तहका सरकार गम्भीर हुन आवश्यक छ’ उनले भने । त्यस्तै अन्तर्राष्ट्रिय श्रम संगठन र राष्ट्रिय मुक्त हलिया समाज महासंघको साझेदारीमा सञ्चालन भइरहेको ब्रिज परियोजनामार्फत बाध्यकारी श्रम अन्त्यका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम,नीति निर्मातासँग छलफल गर्ने लगायतका कामहरु गरिरहेको महासंघले जनाएको छ ।













