काठमाडौं । बाजुरा, बुढीगंगा नगरपालिका-२ बल्देस्थित सडकमा धनगढीबाट मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३६८८ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-१ अमकोट बस्ने ५० वर्षीया बिष्णा पाध्यायको छोरा ५ वर्षीय नयन पाध्यायको बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मार्तडीमा उपचारकोक्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी बिष्णालाई थप उपचारको लागि सुर्खेत तर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख २८९५ नम्बरको ट्रकले ना.४० प ४१९५ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय उदित नारायण झा को मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















