धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई प्रसंशा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् । राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पु¥याएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए।
देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन्। देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए।















