धनगढी । कैलाली कारागारबाट भागेका दुई सय ९२ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी पुस्ताको प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीहरु कारागार नफर्किएका हुन् ।
भागेकामध्ये हालसम्म ३६ जना महिला र तीन सय ३७ जना पुरुष गरी तीन सय ७३ जना कैदीबन्दीमात्रै कारागार फर्किएको कैलाली जिल्ला कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
फरार रहेका मध्ये १९ जना भारतीय नागरिक रहेको उनले जानकारी दिए । उनका अनुसार कैलाली कारागारमा छ सय ६७ जना कैदीबन्दी रहेका थिए । जसमध्ये ५८ जना महिला थिए । जेनजी पुस्ताको प्रदर्शनका क्रममा छ सय ६५ जना कैदीबन्दी भागेको कारागार प्रशासनले जनाएको छ ।
एकजना कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एकजना भने नभागेको कारागार प्रमुख सापकोटाले जानकारी दिए । उनले भने ‘कैदीबन्दी फर्कने क्रम जारी नै छ । फर्किएकामध्ये धेरैजसो आफै सम्पर्कमा आएका हुन् । केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको हो । फरार रहेकाको प्रहरीले खोजीकार्य जारी राखेको छ ।’
जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै जेन्जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन असोज २० गतेसम्मको समय दिएको थियो । तर,उक्त सम्पर्कमा आउन दिइएको अवधि पनि सकिएको छ भने अझै सबै कैदीबन्दी फर्किएका छैनन् ।
यसअघि नै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल समेत गठन भएको छ ।













