धनगढी । कैलालीमा आगामी निर्वाचनका लागि मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका छन् ।
यही असोज १० गतेदेखि हालसम्म १ हजार एक सय ९ जनाले नयाँ मतदाताका लागि नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार सात सय २६ पुरुष र तीन सय ८३ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नयाँ नामावली दर्ता गराउनेमध्ये अधिकांश युवा रहेको उनले बताए ।
उनले दैनिक एक सयको हाराहारीमा नयाँ नामावली दर्ताका लागि आउने गरेको बताए । दर्ता भएकामध्ये करिब ६० प्रतिशत मतदाता थपिने अनुमान गरिएको उनले बताए ।
उनले भने ‘१६ वर्ष उमेर पुगेकाले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँछन् । तर,मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्छ । हाल नाम दर्ता गराएका मध्ये ६० प्रतिशत नयाँ मतदाता थपिन सक्ने हाम्रो अनुमान छ ।’
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आगामी कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ ।कैलालीमा पाँच लाख ३४ हजार ८६४ अद्यावधिक मतदाता रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए । जसमध्ये २ लाख ६१ हजार ५१८ पुरुष,२ लाख ७३ हजार ३३४ महिला र अन्य १२ जना मतदाता रहेको जनाइएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।













