धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्व बोकेको पर्व भएको बताएका छन् ।
तिहार पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले तिहार प्रकाशको पर्व पनि भएको बताए ।
उनले भनेका छन् ‘तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौं । उज्यालो आफैमा प्रेरणाको बिम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’
‘नेपालीहरुको दोस्रो महान चाड तिहार, २०८२ को पावन अवसरमा सुदूरपश्चिम प्रदेश सहित नेपाल र विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।













