धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का सोमबार मृत फेला परेकी थिइन् । घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७ सय मिटर टाढा जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमाकी स्थायी शिक्षक हुन् । घटनासँग सम्बन्धित भन्दै प्रहरीले शिक्षा तथा समन्वय इकाई डोटीमा विद्यालय निरीक्षक पदमा कार्यरत शिखर नगरपालिका–११ घर भएका २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले खड्का र रावलबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भई प्रेम सम्बन्ध रहेको बुझिएको जनाएको छ। प्रहरीका अनुसार रावलको मानसिक दबाब र भावनात्मक अत्याचारका कारण जानकीले आत्महत्या गर्न बाध्य भएकी हुन सक्ने देखिएको छ।
खड्काको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ। सुसाइड नोटमा उनले आफूलाई फसाएको र सामाजिक इज्जतका कारण यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन्।
उनले सुसाइड नोटमा लेखेकी छन् ‘अहिलेसम्म ड्याडी मम्मीको इज्जत सम्झेर बसेकी म आज जिन्दगीले अनौठो मोडमा ल्याइदियो। गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले देखेकी छु, न भेटेकी छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’
‘मेरो आयु यति रहेछ। बाबाआमाको इज्जत गुमाएर, तिमीहरुलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जीउन सक्दिन’ उनले लेखेकी छन् ।
उनले आफ्नो भाइलाई बिरामी आमाबुवाको राम्रोसँग हेरचाह गर्न, खराब संस्कारबाट टाढा रहन आग्रह गरेकी छन्। प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन्। रावलविरुद्ध जानकीका बुवा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्धामा जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् ।















