धनगढी । बिष्ट कल्याणकारी समाज कैलालीले शनिबार रक्तदान गर्ने भएको छ ।
समाजको सोमबार बसेको बैठकले २२ गते आयोजना गर्ने रक्तदान कार्यक्रमको तयारी र व्यवस्थापनका लागि जिम्मेवारी समेत बाडफाँड गरेको छ । शनिबार बिहान ९ बजेदेखि माया मेट्रो अस्पताल नजिकै आयोजना गरिने रक्तदानको तयारी तीब्र बनाइएको छ ।
समाजका अध्यक्ष मदनसिंह बिष्टको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि आवश्यक टेन्ट व्यवस्थापन गर्न धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका जगदीश बिष्ट, पानी र जुसको व्यवस्थापनका लागि धनगढी–८ क्याम्पस चोकका धर्मराज बिष्ट र धनगढी३ बस्ने राजेन्द्र बिष्टलाई फलफूल व्यवस्थापनको जिम्मा दिएको सचिव पदम बिष्टले बताए ।
उनकाअनुसार संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने रक्तदान कार्यक्रम सफल बनाउन सरोकारवालाहरूलाई पत्राचार गर्ने निर्णय समेत गरिएको छ । समाजबाट आर्थिक सहयोग माग गर्न चाहने व्यक्ति, समूह वा संस्थाले समाजका सचिवमार्फत औपचारिक रूपमा जानकारी गराउनुपर्ने र सो जानकारी बिष्ट कल्याणकारी समाजको मेसेन्जर पेजमार्फत प्रकाशित गरिने निर्णय गरिएको छ।
स्वतन्त्र रूपमा पठाइएका अनुरोधहरूलाई कुनै औपचारिक मान्यता नदिइने समाजले स्पष्ट पारेको छ। बैठकले कार्यक्रमका लागि अपुग बजेट समाजको कोषबाट व्यहोर्ने निर्णय पनि गरेको छ।
समाजका सचिव पदम बिष्टले सबै सदस्य र शुभेच्छुकहरूलाई साथ, सहयोग र सुझावका लागि धन्यवाद ज्ञापन गर्दै आगामी रक्तदान कार्यक्रमलाई सफल बनाउन एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।















