धनगढी । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि कैलाली जिल्ला अदालतका २९ हजार ७ सय ७७ थान मिसिलहरु फेला परेका छैनन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि उक्त मिसिलहरु फेला नपरेको कैलाली जिल्ला अदालतले जनाएको छ ।
अदालतले एक सूचना जारी गर्दै जलेर नष्ट भएका वा फेला नपरेका मुद्दाको विवरण सार्वजनिक गरेको छ । अदालतका निमित्त श्रेस्तेदार दिवानीराम लोहारले सार्वजनिक गरेको सूचनामा अभिलेख शाखामा वि सं.२००७ सालदेखि हालसम्मका २९ हजार ७ सय ७७ थान मिसिलहरु फेला नपरेको उल्लेख छ ।
मुद्दा दर्ता फाँटका चालु र फैसला भएका २ सय ११, मुद्दा फाँट सरल–१ मा १ सय ७, मुद्दा फाँट सरल–२ मा रहेका २ सय ४६, मुद्दा फाँट सामान्य–१ मा २, मुद्दा फाँट सामान्य–२ मा १ थान मिसिल र तहशिल शाखामा चालु र तामेलीमा रहेका १ हजार ६ सय ६० निवेदनका फाइल फेला नपरेको अदालतले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता र जिम्मेवारी सरेका १ हजार ८ सय ३२ मध्ये ५ सय ६७ थान मुद्दाका फेला नपरेको जनाइएको छ ।
त्यस्तै, चालु र फैसला भएका २ हजार ४ सय १ मुद्दाका फाइल सुरक्षित भेटिएको सूचनामा उल्लेख छ ।
जसमध्ये मुद्दा फाँट सरल–१ मा चालु र फैसला भएका ८ सय २५ थान मिसिल, मुद्दा फाँट सरल–२ मा चालु र फैसला भएका ५ सय ९५,मुद्दा फाँट सामान्य–१ मा चालु र फैसला भएका २ सय ३३ थान मिसिल,मुद्दा फाँट सामान्य–२ मा चालु र फैसला भएका ४ सय ३३ थान मिसिलहरु रहेका जनाइएको छ ।
त्यस्तै, मुद्दा फाँट बालबालिकामा चालु र फैसला भएका १ सय ७५ थान, मुद्दा फाँट अभियानमा चालु र फैसला भएका ३७, मुद्दा फाँट विशेषमा चालु र फैसला भएका १ सय ३ थान मिसिलहरु र तहशिल शाखामा चालु १ सय १ थान निवेदनका फाइलहरु सुरक्षित भेटिएको सूचनामा उल्लेख छ ।















