कञ्चनपुर । नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट डा. दीपकप्रकाश भट्टलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । लामो राजनीतिक अनुभव, उच्च शैक्षिक योग्यता र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान बनाएका भट्ट यसपटक “बौद्धिक नेतृत्वको पुनरागमन” को एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।
२०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाहीलेकमा जन्मिएका भट्ट हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।
महादेव र नन्दादेवी भट्टका छोरा उनले प्रारम्भिक शिक्षा दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयबाट प्राप्त गरेका थिए । त्यसपछि कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालयबाट अध्ययन गर्दै २०४४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।
उच्च शिक्षाका लागि भारत पुगेका भट्टले पिथौरागढबाट इन्टरमिडिएट र बीएस्सी पूरा गरेपछि २०५१ सालमा एमएससी तथा २०५६ सालमा देहरादुनबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले भारतकै प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेका छन् ।
भट्टले राजनीति प्रवासबाटै शुरु गरेका हुन् । पञ्चायती शासनविरुद्धको आन्दोलनबाट प्रभावित हुँदै २०४५ सालमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको पिथौरागढ नगर कमिटीबाट सक्रिय राजनीति शुरु गरेका उनले पछि केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत सम्हाले । एमालेको महाकाली सम्पर्क कमिटी इन्चार्ज, केन्द्रीय विभाग सदस्य, सचिव हुँदै हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा उनी सक्रिय छन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएका भट्टले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेर काम गरेका थिए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी उपसमिति तथा वाइडबडी विमान खरिद प्रकरण छानबिन उपसमितिको संयोजकका रूपमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नीतिगत र शैक्षिक क्षेत्रमा समेत सक्रिय भट्ट ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्सका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा समेत आबद्ध छन् । शान्ति प्रक्रिया अन्तर्गत माओवादी सेना समायोजन तथा पुनर्स्थापना सम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा पनि उनले योगदान दिएका थिए ।
चुनावी प्रतिस्पर्धा र चुनौती
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । साथै नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवार समेत चुनावी मैदानमा छन् ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका रमेश लेखक विजयी भएका थिए । उनले ३० हजार ५७५ मत प्राप्त गर्दा एमाले उम्मेदवार निरुदेवी पालले १८ हजार ४८५ मत ल्याएकी थिइन् । यसपटक भने दुवै दलले नयाँ उम्मेदवार अघि सारेका छन् ।
अनुकूलता र प्रतिकूलता
भट्टका लागि संसदीय अनुभव, उच्च शैक्षिक योग्यता, अन्तर्राष्ट्रिय पहिचान तथा पार्टीमा निरन्तर सक्रियता मुख्य सबल पक्षका रूपमा रहेका छन् । उनको शालीन व्यक्तित्व र नीतिगत स्पष्टताले सचेत मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
तर अघिल्लो निर्वाचनमा एमाले पराजित भएको क्षेत्र हुनु, स्थानीय मुद्दामा अपेक्षाकृत कम प्रत्यक्ष संलग्नता तथा परम्परागत मत विभाजनको सम्भावना उनका लागि चुनौतीका रूपमा देखिएका छन् ।
समग्रमा, बौद्धिक छवि, नीतिगत अनुभव र लामो राजनीतिक यात्रासहित भट्ट कञ्चनपुर–३ मा आफ्नो प्रभाव पुनः स्थापित गर्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् ।













