अत्तरिया । कैलालीको गौरीगंगा–६, दैदवारीमा विभिन्न राजनीतिक दल परित्याग गरी ३१ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले टीका तथा खादा लगाएर औपचारिक स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै उम्मेदवार बिष्टले पछिल्लो समय कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसप्रति जनताको भरोसा र आकर्षण बढ्दै गएको बताए।
उनले विकास, सुशासन र जनहितका एजेन्डासहित आफू निर्वाचन मैदानमा उत्रिएको उल्लेख गर्दै दैदवारीसहित समग्र क्षेत्रको समुन्नतिका लागि प्रतिवद्ध रहेको धारणा राखे।
नवप्रवेशीहरूले देशमा लोकतन्त्रको सुदृढीकरण, स्थायित्व र समावेशी विकासका लागि नेपाली कांग्रेस उपयुक्त विकल्प भएको निष्कर्षसहित पार्टी रोजेको बताएका थिए।
उनीहरूले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

















