धनगढी ।युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिमको ड्रिम प्रोजेक्टका रूपमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरव र विशेष प्राथमिकताको आयोजनाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
मंगलबार फाप्ला क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि धनगढी पुगेका मन्त्री पोखरेलले आयोजनाको प्रगतिबारे जानकारी लिँदै यश आयाेजनालाई प्राथमिकतामा राख्ने बताए ।
निरीक्षण टोलीमा प्रतिनिधि सभा सदस्यहरू आनन्द चन्द, के.पी खनाल र रास्वपाका युवा नेता भूपदेव शाह लगायतकाे सहभागिता रहेकाे थियाे ।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले फाप्ला आयोजनाको जग्गा प्राप्ति, डिपिआर र इआईए जस्ता सबै प्राविधिक प्रक्रियाहरू सफलतापूर्वक सम्पन्न भइसकेका बताए । उनले यो आयोजना राष्ट्रिय आयोजना बैंकमा समेत समावेश भइसकेको हुनाले अब यसलाई सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताए ।
मन्त्री पोखरेलले फाप्ला आयोजना केवल खेलकुदको पूर्वाधार मात्र नभई सुदूरपश्चिमको पर्यटन र समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ सावित हुने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री र उच्चस्तरीय टोलीको भ्रमणले आयोजना निर्माणमा नयाँ ऊर्जा थपेको बताए । उनले लामो समयको कानुनी र प्राविधिक तयारीपछि अब आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताए । उनले भने – मन्त्रीज्यूको प्रतिबद्धताले यो आयोजनाले अब चाँडै मूर्तरूप लिनेमा हामी पूर्ण विश्वस्त छौँ।
फाप्ला क्रिकेट मैदान उच्च प्राथमिकतामा : खेलकुद मन्त्री पोखरेल
फाप्ला क्रिकेट मैदान उच्च प्राथमिकतामा : खेलकुद मन्त्री पोखरेल
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













