धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मिडिया क्षेत्रलाई अंकुश लगाउनुभन्दा निश्चित मापदण्ड बनाएर अगाडि बढ्नु पर्ने बताएका छन ।
तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने संघीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दवाबमूलक अभियान अन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘संघ सरकारले केही मिडिया क्षेत्रलाई आतंकित गर्ने गरि परिपत्र गरेको छ । पूर्णरुपमा विश्वासको वातावरण निर्माण नगरिकन जुन कडाइ गरेको छ । त्यसले विशेषगरी निजी क्षेत्रका मिडियालाई समस्या परेको छ ।’
उनले सरकारले निश्चित मापदण्ड बनाएर सरकारी तथा निजी क्षेत्रका मिडियालाई अगाडि बढाउनुु संघीय सरकारलाई आग्रह समेत गरे ।
मुख्यमन्त्री शाहले आमसञ्चार विधेयक प्रदेशसभामा टेवुल भएको जानकारी दिँदै त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्ने गरि पास गरिने बताए ।
छलफलमा महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहले पछिल्लो समय सिर्जित मिडिया क्षेत्रका समस्या तथा प्रदेश समतिको धारणा बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए ।
अध्यक्ष शाहले पछिल्लो समय निजी क्षेत्रका मिडिया धारासायी बनेका बनेको बताउँदै कर्मचारीको तलब त परै जाओस बिजुलीको बिल तिर्ने मुस्किल भएको बताए ।
लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारिता क्षेत्रलाई अहिलेको सरकारले कुन्ठित गर्न खोजेको आरोप लगाए ।
उनले प्रदेशबाट उत्पादन हुने विज्ञापन प्रदेश भित्रकै मिडियामा दिनुपर्ने धारणा राखे । छलफलमा बोल्दै महासंघका निवर्तमान प्रदेश अध्यक्ष योगेश रावलले प्रदेशको विज्ञापन प्रदेशकै मिडियालाई दिनु पर्ने,यहाँको श्रोत यहीँ प्रयोग हुनु पर्यो धारणा राखेका थिए ।
पत्रकार हेमन्त पौडेल स्थानीय पत्रपत्रिका समस्यामा रहेको बताउँदैँ यहाँ मिडियाले विज्ञापन नपाउने काठमाडौमा दिनुपर्ने कुरा अव्यवहारिक भएको बताए ।



















