काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै सांसद सुनारले फोनमार्फत एक महिलामाथि दुर्व्यवहार गरेको भनिएको टेलिफोन अडियोबारे छानबिन सुरु गरिएको जनाएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको जानकारी दिइएको छ ।
छानबिन जारी रहँदासम्म सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ । रास्वपाले सांसद सुनारका विषयमा सार्वजनिक भएका विषयहरुको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरुबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वस्त रहेको समेत जनाएको छ ।
रास्वपाले कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको समेत उल्लेख गरेको छ । रास्वपाले प्रतिनिधिसभा सदस्य सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र निजका विषयमा उठाइएका गम्भीर प्रश्नहरुमाथि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आरोपका रुपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरु अन्त्यन्तै संवेदनशील रहेको जनाएको छ ।
विज्ञप्तिमा रास्वपा महिलामाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसूरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ ।



















