काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आजैबाट लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको वक्तव्यमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनमा आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्।
उनले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि आफूले मार्ग प्रशस्त गरेको जनाएका छन्। पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ।
गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि बताएका छन्।



















