कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा अपार सम्भावना रहेको बताएका छन् ।
धनगढीमा आजदेखि सुरु भएको समृद्धिका लागि सार्थक संवाद ‘सुदूरपश्चिम कचहरी २०८३’ को उद्घाटन गर्दै उनले प्रदेशमा रहेका अपार सम्भावनाहरूलाई युवाहरुको आयआर्जनसँग जोड्न आवश्यक रहेको बताए।
मुख्यमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका आवश्यकताहरू सम्बोधन हुने स्पष्ट र कार्यान्वयनयोग्य खाका निर्माण गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै कायम रहेको उल्लेख गर्दै यिनै चुनौतीका बीच प्रदेश सरकारले सम्भावनाको खोजी गरिएको बताए।
सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजनामा तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमले प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, यसले सुदूरपश्चिमका सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।



















