धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा दुई हजार चार सय १० दशमलव ९२ क्विन्टल गहुँ खरिद गरेको छ ।
गत वैशाख १५ गतेबाट गहुँ खरिद सुरु गरेको कम्पनीले हालसम्म जिल्लाका तीन स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट उक्त परिमाणको गहुँ खरिद गरेको हो ।
कम्पनीले जिल्लाको टीकापुर गोदामबाट दुई हजार एक सय ८४ दशमलव ७७ क्विन्टल,मोहनपुर गोदामबाट ३४ दशमलव ५९ क्विन्टल र गौरीगंगा खरिदकेन्द्रबाट एक सय ९१ दशमलव ५६ क्विन्टल गहुँ खरिद गरेको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।
उनका अनुसार खाद्य कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद गरिरहेको छ ।
कार्यालय प्रमुख थापाले सरकारले गहुँको न्यूनतम समर्थन मूल्य रु.तीन हजार नौ सय ४५ निर्धारण गरेकामा खाद्य कम्पनीले रु.चार हजार दुई सय ५० मा गहुँ खरिद गरिरहेको बताए ।
कम्पनीको जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको तथा प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा पाँच सय क्विन्टलसम्म गहुँ खरिद गरिने उनले जानकारी दिए ।
गहुँ बिक्रीका लागि किसानले आफ्नो परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस वा प्रमाणित प्रति र स्वघोषणा पत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान राखिएको कार्यालय प्रमुख थापाको भनाइ छ ।
गत वर्ष कम्पनीको जिल्लामा गहुँ खरिद कोटा पाँच हजार क्विन्टल रहेकामा ५२ दशमलव पाँच क्विन्टलमात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।



















