धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले दश महिनामा ७२ दशमलव ३८ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा वार्षिक लक्ष्यको ७२ दशमलव ३८ प्रतिशत राजस्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षमा कार्यालयको ९ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा १० महिनामा ७ अर्ब २ करोड ९३ लाख राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार चालु आवमा चैतबाहेक कुनैपनि महिना कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन् । चैत महिनामा मात्रै लक्ष्यभन्दा बढी अर्थात् १०४.९४ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए ।
साउन महिनामा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख लक्ष्य रहेकामा ५३ करोड ७० लाख र असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकामा ६७ करोड ७८ लाख राजस्व संकलन भएको उनले जानकारी दिए ।
त्यस्तै, कार्तिक महिनामा ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड ५४, मङ्सिर महिनामा ७८ करोड ३३ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख र पुसमा ८१ करोड २५ लाख लक्ष्य रहेकामा ७४ करोड ६५ लाख राजस्व संकलन भएको उनले जानकारी दिए ।
त्यस्तै,माघ महिनामा ७६ करोड नौ लाख लक्ष्य रहेकामा ६८ करोड ८२ लाख,फागुन महिनामा ७७ करोड १४ लाख लक्ष्य रहेकामा ७६ करोड ४४ लाख र चैतमा ८७ करोड ७० लाख लक्ष्य रहेकामा ९२ करोड ३ लाख र वैशाखमा ८६ करोड ११ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७० करोड २९ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयको गत आर्थिक वर्ष २०८१/८२ मा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको थिएन् । कार्यालयको गत आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाखमात्रै राजस्व सङ्कलन भएको जनाइएको छ । जुन वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशतमात्रै रहेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।













