कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले समाज र राष्ट्रको विकास तथा समृद्धिका लागि सशक्त युवा पंक्ति आवश्यक रहेको बताएका छन् ।
नेपाल स्काउटले आयोजना गरेको ‘फिनल्याण्ड-नेपाल पार्टनरशिप प्रोजेक्ट’ अन्तर्गतको ‘स्काउट्स पिस एन्ड सेक्युरिटी’ कार्यक्रममा मंगलबार धनगढीमा बोल्दै उनले पछिल्लो समय युवाहरू कुलततर्फ आकर्षित भइरहेको उल्लेख गर्दै त्यसबाट जोगाई समुन्नत समाज निर्माणमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
प्रदेश प्रमुख मियाँले युवामाझ शान्ति, सुरक्षा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा व्यापक छलफल आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले युवामा सकारात्मक सोच र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समिति सभापति धर्मराज पाठकले युवा सशक्तीकरणमार्फत सबैलाई अगाडि बढाउन सके युवा मैत्री विकासको आधार बलियो हुने बताए ।
नेपाल स्काउट सुदूरपश्चिम प्रदेश आयुक्त नरेन्द्र थापाले स्काउट अभियानमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने, युवालाई अनुशासित, जिम्मेवार र सामाजिक उत्तरदायी नागरिकका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना , सञ्चारकर्मी,विभिन्न जिल्लाका स्काउट प्रतिनिधि, युवा तथा सरोकारवालाको सहभागिता रहेको थियो ।



















