अछाम । अछामको साँफेबगर नगरपालिका-२ स्वाँरबाडास्थित पहलमानसिंह स्वाँर मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
बुधबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ बस्ने टेकेन्द्र रावत घाइते भएका छन्। उनको बायाँ खुट्टा भाँचिएको छ भने अवस्था मध्यम रहेको र प्रहरी निगरानीमा उपचार भइरहेको जनाइएको छ।
त्यस्तै, घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने ४१ वर्षीया देबु खाती, सोही स्थानका ५३ वर्षीय नृप खाती,बाजुराको बुढीगंगा नगरपालिका-९ बस्ने ३४ वर्षीया उज्जला सेरला र ८० वर्षीया बैरागी सेरेला रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेहरूलाई बयलपाटा प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय साँफेबगर र प्रहरी चौकी साँफेबजारबाट खटिएको टोलीले उद्धार गरेको थियो।













